चकलेट, कुरकुरे, आलु चिप्स, पेष्ट्री, केकजस्ता कुन कुन बस्तुमा बढ्यो कर ?
कुरकुरे, कुरमुरे, लेज, चिजवलमा प्रतिकिलो २० रुपैयाँबाट बढाएर अन्त:शुल्क ७५ रुपैयाँ, आलुचिप्समा अन्त:शुल्क प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ र पास्तामा अन्त:शुल्क प्रतिकिलो २० रुपैयाँबाट बढाएर ३५ रुपैयाँ बनाइएको छ।
काठमाडौं । सरकारले चकलेटको अन्त:शुल्क बढाएको छ। यसमा १५ प्रतिशत रहेको अन्त:शुल्क बढाएर २२ प्रतिशत बनाइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमार्फत कोका नभएको चिनीको मीठाइ (सेतो चक्लेट सहित), चिनीले छोपेको वा नछोपेको वा मीठो लेप लगाएको वा नलगाएको चुइगमसमेतको अन्त:शुल्क बढाइएको हो।
नयाँ बजेटसँगै आएको आर्थिक विधेयक २०८३ मार्फत कुरकुरे, कुरमुरे, लेज, चिजवलमा प्रतिकिलो २० रुपैयाँबाट बढाएर अन्त:शुल्क ७५ रुपैयाँ पुर्याइएको छ । साथै आलुचिप्समा अन्त:शुल्क प्रतिकिलो १८ रुपैयाँबाट बढाएर ३० रुपैयाँ पुर्याइएको छ । पास्तामा अन्त:शुल्क प्रतिकिलो २० रुपैयाँबाट बढाएर ३५ रुपैयाँ बनाइएको छ।
पाउरोटी, पेष्ट्री, केक, बिस्कुट र अरु रोटी सम्बन्धी सामान; कम्युनियम, वेफर्स (पकाएको रोटी बिर्कोको काम गर्ने), औषधि भर्न हुने खाली क्याप्सुल, (एम्टी क्यासे), सिलिङ (आकृति अंकित) वेफर्स, राइस पेपर (तोफु, ममचा बनाउने पीठोको रोटी जस्तो पदार्थ) र अन्य यस्तै उत्पादनमा १५ प्रतिशतबाट बढाएर २२ प्रतिशत पुर्याइएको छ।