भिसा सकिएर कम्बोडियामा रहेका नेपालीलाई एक साता भित्र स्वदेश फर्किन आग्रह
कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
काठमाडौँ । कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेका नेपालीहरूको विवरण सङ्कलन कार्य १ मे २०२६ देखि सुरु गरिएको थियो । उक्त विवरणका आधारमा राहदानी हराएका सबै नेपालीका लागि एकतर्फी यात्रा कागजात तयार गरी सम्बन्धित निकायमार्फत कम्बोडिया पठाइसकिएको पनि जनाइएको छ ।
दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले हालसम्म आठ चरणमा गरी ६०२ जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिसकेको छ ।
यसैबीच, दूतावासले भिसा अवधि सकिएपछि पनि कम्बोडियामा रहेका सबै नेपालीलाई एक हप्ताभित्र नेपाल फर्किन कडा अनुरोध गरेको छ । तोकिएको समयभित्र फर्किन नसके नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कम्बोडिया सरकारले जनाएको छ ।
दूतावासले सम्बन्धित सबैलाई यो सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म छिटो स्वदेश फर्किन अनुरोध गरेको छ । साथै, जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरेपछि त्यसबारे अग्रिम जानकारी सम्बन्धित कम्बोडियाको अध्यागमन विभागलाई दिनुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, नेपाल फर्किने क्रममा कम्बोडियाबाट नेपालका लागि सिधा उडान उपलब्ध नभएकाले ट्रान्जिटमार्फत हुने यात्रा हो वा होइन भन्ने सुनिश्चित गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले सुझाव दिएको छ ।