सुशासन र समृद्धिका लागि राजनीतिक आचरणमा आमूल परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए ।

उनले आर्थिक विकास र समृद्धिलाई नागरिकको जीवनसँग जोड्न सकिए मात्र शासन व्यवस्थाप्रति जनविश्वास बढ्ने धारणा राखे ।

राष्ट्रपति पौडेलले मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको उल्लेख गर्दै वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेर काम गरिरहेकोमा खुशी व्यक्त गरे ।

उनले शासकीय सुधारका १०० कार्यसूचीको प्रभावकारी कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानुनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तन मात्र पर्याप्त नहुने स्पष्ट पार्दै राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन आवश्यक रहेको बताए ।

उनले भने, ‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैन । यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा परिवर्तन ल्याउनुपर्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्न सक्दैन ।’

राष्ट्रपति पौडेलले गणतन्त्रलाई केवल शासन व्यवस्था नभई आचरणशील राजनीति तथा आर्थिक–सामाजिक जीवन पद्धतिको रूपमा बुझ्नुपर्ने उल्लेख गरे ।

उनले गणतन्त्रको मर्यादा जोगाउन र यसलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल र सरोकारवालालाई उच्च राजनीतिक निष्ठा, नैतिकता र आचरणसहित एकतावद्ध भएर लाग्न आह्वान गरे ।