८ महिनामा करिब ५ खर्ब लगानी स्वीकृत, उद्योग विभागमा ९२१ थप उद्योग दर्ता
फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ । दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत छन् ।
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । त्यसमध्ये उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।
आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार २०८२ फागुनसम्म उद्योग क्षेत्रमा ५४ खर्ब ४४ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भई कुल उद्योगको सङ्ख्या ११ हजार १ सय ४० पुगेको जानकारी दिए । दर्ता भएका यी उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
फागुनसम्म दर्ता भएका कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ । दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत छन् । यसअवधिसम्म उद्योग विभागमा ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा उद्योगमा २८.३ प्रतिशत र सबैभन्दा कम खनिज उद्योगमा १.३ प्रतिशत छ ।