नेपालमा उद्योग क्षेत्रको नयाँ रेकर्ड: ११ हजार बढी उद्योग, ५४ खर्ब ४४ अर्ब लगानी स्वीकृत

सरकारका अनुसार २०८२ फागुनसम्म उद्योग क्षेत्रमा कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौं । नेपालमा औपचारिक रूपमा दर्ता भएका उद्योगहरूको संख्या ११ हजार नाघेको छ । सरकारले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म उद्योग विभागमा थप ९२१ उद्योग दर्ता भएसँगै कुल उद्योग संख्या ११ हजार १ सय ४० पुगेको हो । यी उद्योगबाट करिब ७ लाख ८५ हजार जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको सरकारले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको फागुनसम्म उद्योग विभागमार्फत ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ तथा लगानी बोर्ड नेपालमार्फत १ खर्ब २ अर्ब २६ करोड रुपैयाँ गरी कुल ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको जानकारी दिएका छन् ।

सरकारका अनुसार २०८२ फागुनसम्म उद्योग क्षेत्रमा कुल स्वीकृत लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, उद्योग विभागमा दर्ता भएका ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी २८.३ प्रतिशत सेवा क्षेत्रमा रहेको छ भने सबैभन्दा कम १.३ प्रतिशत खनिज उद्योग क्षेत्रमा रहेको उल्लेख गरिएको छ ।

यस्तै, २०८२ फागुनसम्म देशभर दर्ता भएका कम्पनीहरूको संख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ । तीमध्ये ९७.५ प्रतिशत प्राइभेट लिमिटेड कम्पनी रहेका छन् भने अन्य कम्पनीहरूको हिस्सा २।५ प्रतिशत रहेको सरकारको तथ्यांकमा उल्लेख छ ।