आर्थिक सर्वेक्षण २०८२/८३ः अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने, पूँजीगत खर्च उल्लेख्य बढ्न सकेनः अर्थमन्त्री वाग्ले

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ । यसअवधिमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च बढ्न नसकेको स्वीकारेका छन् । 

संघीय संसदमा आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै चालू वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान सार्वजनिक गरे । यसअवधिमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ । सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । 

राजस्व संकलनमा सुधार भएको बताउँदै अर्थमन्त्री वाग्लेले सर्वेक्षणले औंल्याएका विषयलाई बजेटमार्फत सम्बोधन गरिने बताए । अर्थमन्त्री वाग्लेले विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गरेका थिए । कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान गरिएको छ ।