लगातार दुई दिन बढेको नेप्सेमा ब्रेक: ९.२४ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८५ करोडमा खुम्चियो
साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंक घटेर २७७७.१० विन्दुमा झरेको छ । आज ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । पछिल्ला दुई कारोबार दिनको लगातार बढेको नेप्से परिसूचक मंगलबार भने घटेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंक घटेर २७७७.१० विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ । १३ उपसमूहमध्ये २ उपसमूह मात्रै बढेका छन् भने ११ उपसमूहमा गिरावट आएको छ। म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूह सामान्य अंकले बढे पनि अन्य अधिकांश उपसमूह दबाबमा परेका छन् ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबार भने ५ अर्ब ९८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत बढेको छ । सो कम्पनी गत शुक्रबार नेप्सेमा सूचीकृत भइ आजदेखि नियमित दोस्रो बजारमा कारोबारमा आएको हो । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशत बढेको छ भने त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । आज घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको साढे १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ६९ कम्पनीको मूल्य बढ्यो भने १९० को घट्यो । ११ कम्पनीको मूल्य स्थिर रह्यो ।