सरकारले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र घोषणा गर्नुपर्दछ : विदुषी राणा
सरकारले उत्पादन क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र मेसिनहरुको आयातमा कुर छुट दिने, चोरी पैठारी अन्त्य गर्ने, विद्युतमा राहत दिने लगायतका काम गर्नुपर्ने सांसद राणाको भनाई थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं व्यवसायी विदुषी राणाले उत्पादनमूलक क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त माग गरेकी हुन् । सांसद राणाले मुलुकको उत्पादन क्षेत्र अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेकाले सरकारले उनीहरुलाईं सहज हुनेगरी आगामी आर्थिक वर्षको बजेट तय गर्नुपर्ने पनि बताइन् । उनलेले सरकरले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि अभियान नै संचालन गर्नुपर्ने बताइन् । सरकारले उत्पादन क्षेत्रका लागि आवश्यक कच्चा पदार्थ र मेसिनहरुको आयातमा कुर छुट दिने, चोरी पैठारी अन्त्य गर्ने, विद्युतमा राहत दिने लगायतका काम गर्नुपर्ने सांसद राणाको भनाई थियो ।
उनले भनिन् ,‘नेपालमा म्यानेफ्याक्चरिङ सेक्टरआज अत्यन्तै कठिन अवस्थामा छ । उद्योगीहरुले केवल व्यापार मात्रै गरिरहेका छैनन । उनीहरुले लाखौ नेपालीलाई रोजगारी दिईरहेका छन । उत्पादन गरिरहेका छन । कर तिरिरहेका छन । आयात प्रतिस्थापन गरिरहेका छन । कतिले त निर्यात प्रवद्र्धन पनि गरिरहेका छन । र नेपालको अर्थतन्त्र धानेर बसेका छन् । तर वास्तविकता के हो भने नेपालमा उत्पादन गर्नु अत्यन्तै महंगो छ । उच्च कार्यशील पुँजी, महंगो जग्गा, हाई विद्युत डिमान्ड चार्ज, ढुवानी लागत, कमजोर पूर्वाधार, चोरीपैठारी, स्वदेशी उद्योगलाई पर्याप्त संरक्षण नहुने र जटिल प्रणालीले नेपाली उद्योगहरुलाई प्रतिष्पर्धा गर्न कठिन बनाईरहेको छ । त्यसैले आगामी बजेटले म्यानेफ्याक्चरिङ सेक्टरलाई नेशनल प्रायोरिटी सेक्टर घोषणा गर्नैपर्छ । यसका लागि म केही स्पष्ट सुझावहरु दिन चाहन्छु । पहिलो, रअ म्याटिरियल कर सहुलियत दिईयोस । चोरी पैठारी अन्त्य गरियोस । मेड इन नेपाल अभियान सञ्चालन गरियोस् ।’
सांसद राणाले सरकारले नेपाली बस्तुको उत्पादन लागत धेरै महंगो भएकाले पनि नेपाली उत्पादनले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने अवस्था नरहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।