नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, प्रतितोला सुन १३ सयले घट्यो

काठमाडौं- नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले ओरालो लागेको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यो गिरावटले लगानीकर्ता तथा उपभोक्ता दुवैलाई प्रभावित पार्ने देखिन्छ।