परराष्ट्र सेवालाई आर्थिक कुटनीति र संस्थागत सुधारमा केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड

आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन् । मन्त्री खनालले सिमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कुटनीतिज्ञहरूले निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको बताए । मन्त्री खनालले परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्व हुनुपर्ने उल्लेख गरे । विश्व भू-राजनीतिमा भइरहेको तिब्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कुटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको उनको भनाइ छ । नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

संस्थागत सुधारको आवश्यकता औँल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने सङ्कल्प गर्दै मन्त्रालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने स्पष्ट समेत पारे ।