बैंक कर्मचारीलाई अब अनिवार्य ओभरटाइम भुक्तानी, जबर्जस्ती अतिरिक्त काम लगाउन नपाइने

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बुँदा नम्बर २३ थप गरी अबदेखि कार्यालय समयभन्दा बढी काम गराउँदा कानुनअनुसार ओभरटाइम भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बुँदा नम्बर २३ थप गरी अबदेखि कार्यालय समयभन्दा बढी काम गराउँदा कानुनअनुसार ओभरटाइम भुक्तानी गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको हो । यसअघि श्रम ऐनमा यस्तो प्रावधान भए पनि राष्ट्र बैंकको निर्देशनमा स्पष्ट उल्लेख नहुँदा बैंकअनुसार फरक-फरक अभ्यास हुँदै आएको थियो । केही बैंकले ओभरटाइम सुविधा दिने र केहीले नदिने अवस्था रहेको थियो ।

संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न पाउने छैनन् । कर्मचारीको सहमति र कानुनी प्रक्रियाअनुसार मात्रै अतिरिक्त काम लगाउन सकिने व्यवस्था गरिएको छ ।

बैंक कर्मचारीको कार्यसमय, अतिरिक्त काम र पारिश्रमिकसम्बन्धी विषयमा केन्द्रीय बैंकमा व्यापक गुनासो आएपछि यो निर्णय गरिएको स्रोतले जनाएको छ । शुक्रबार नेपाल बैंकर्स संघ का पदाधिकारीसँग गभर्नर डा। विश्वनाथ पौडेल ले छलफल गरेलगत्तै राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।

यसअघि सरकारले बैंक तथा वित्तीय संस्थामा आउटसोर्सिङमार्फत कार्यरत सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगीहरूको श्रम अधिकार सुनिश्चित गर्न पनि कडाइ गरेको थियो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग ले सबै बैंकमा श्रम ऐनको पूर्ण कार्यान्वयन गराउन राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

‘हेलो सरकार’ र श्रम मन्त्रालयमा न्यूनतम पारिश्रमिक तथा सेवा-सुविधा नपाएको भन्दै व्यापक उजुरी परेपछि सरकारले अनुगमन र श्रम अडिटलाई थप कडाइ गरेको हो । विभागले प्रत्येक बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा श्रम अडिट गराई प्रतिवेदन राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले सरल तथा समावेशी बैंकिङ सेवासम्बन्धी व्यवस्था पनि परिमार्जन गरेको छ । अब बैंकहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा निरक्षर सेवाग्राहीका लागि विशेष प्राथमिकतासहित छुट्टै काउन्टर व्यवस्था गर्नुपर्नेछ ।

निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गता मैत्री बनाउनुपर्ने, एटिएम लाउञ्ज सञ्चालन गर्नुपर्ने तथा कम्तीमा एक अपाङ्गता मैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै बैंकका वेबसाइट र मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।