दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार, सबैभन्दा धेरै कम्बोडियाबाट

उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, मन्त्रालयका अनुसार लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपाली छन्

काठमाडौं । दक्षिण-पूर्वी एसियाका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा ठगिएका नेपालीहरुको उद्धार गरिएको हो । क्षेत्रीले स्क्याम सेन्टरहरूमा ठगिएका नेपालीहरुको पहिचान र उद्धार जारी रहेको बताए ।

उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, मन्त्रालयका अनुसार लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपाली छन् । क्षेत्रीका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायको समन्वयमा यसअघि ६ सय १६ जनाको उद्धार गरिएको थियो । पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको छ । 

दक्षिण पूर्वी एसिया क्षेत्रमा अझै धेरै नेपाली फसेको हुन सक्ने भन्दै प्रवक्ता क्षेत्रीले नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ नेपालीको जरिवाना मिनाहा गरेको र थप १ सय ७२ जनाको जरिवाना मिनाहाका लागि अनुरोध गरिएको बताए ।

प्रवक्ता क्षेत्रीले संगठित अपराध, मानव तस्करी लगायत कसुरमा थुनामा रहेका नेपालीको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको दावी गरे । त्यसैगरी म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाका लागि पहल भईरहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको छ ।