गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद र ३ हजार जरिवाना

काउन्सिलले मेडिकल काउन्सिल तथा सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डा.’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई तीन वर्षसम्म जेल र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको हो ।

काठमाडौं । गैरकानुनी रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध नेपाल मेडिकल काउन्सिलले कडा कारबाही प्रक्रिया अघि बढाउने भएको छ । काउन्सिलले मेडिकल काउन्सिल तथा सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डा.’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई तीन वर्षसम्म जेल र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी दिएको हो । काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै अवैध रूपमा ‘डा.’ उपाधि प्रयोग गर्नेहरूमाथि ‘जिरो टोलरेन्स’ नीति अपनाइने जनाएको छ । विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैरचिकित्सक स्वास्थ्यकर्मी र असम्बन्धित व्यक्तिहरूले आफूलाई ‘डाक्टर’ भन्दै बिरामी जाँच्ने, औषधि सिफारिस गर्ने र प्रेस्क्रिप्सन लेख्ने कार्य बढेको भन्दै काउन्सिलले गम्भीर चिन्ता व्यक्त गरेको छ । काउन्सिलका अनुसार यस्ता गतिविधिले जनस्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना गरिरहेको छ । नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, उपचार परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकलाई मात्रै कानुनी अधिकार रहेको स्पष्ट पारिएको छ ।