विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आग्रह
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् ।
बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबीच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए मारवाडी समुदायका व्यवसायीहरूलाई सम्बोधन गर्दै मातृभूमि फर्कन आग्रह गरे । अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत गराउन भने । उनले महिलामाथि हुने हिंसा र अपमान अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नहरूले ढिलोचाँदो सजाय भोग्नुपर्ने धारणा राखे । महिलाको अपमानलाई उनले पौराणिक पात्र सीता र द्रोपदीको प्रसंगसँग जोड्दै यसलाई ठूलो पापको रूपमा चित्रण गरे ।
राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिए । अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक नेतृत्व र शक्ति केन्द्रहरूप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले मधेस केन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘युनाइटेड मधेस’ पनि यस प्रक्रियामा साथै रहेको जानकारी दिए । बैठकमा उनले उठाएका कतिपय विषयहरूमा अन्य सदस्यहरूले स्पष्टीकरण माग गरेपछि उनले आफ्ना भनाइहरू राजनीतिक सद्भाव र राष्ट्रिय एकताका लागि भएको प्रस्ट पारेका थिए ।