बैंकमा रकम थुप्रिनु मात्रै समृद्धिको संकेत होइन: विदुषी राणा

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राणाले बैंकहरूमा ठूलो रकम थुप्रिनु मात्रै समृद्धिको संकेत नभएको भन्दै उत्पादन, रोजगारी र उद्यमशीलतामा लगानी बढाउनुपर्ने बताइन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य विदुषी राणाले कर्जाको वर्गीकरण र कालो सूची सम्बन्धी विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राणाले बैंकहरूमा ठूलो रकम थुप्रिनु मात्रै समृद्धिको संकेत नभएको भन्दै उत्पादन, रोजगारी र उद्यमशीलतामा लगानी बढाउनुपर्ने बताइन् । उनले राष्ट्र बैंकको तथ्यांक उद्धृत गर्दै बैंक तथा वित्तीय संस्थामा करिब ७८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको तर १० खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकमै थुप्रिएको बताइन् । राणाका अनुसार देशभर ६ करोडभन्दा बढी बचत खाता भए पनि कर्जा खाता भने करिब २० लाख मात्रै छन् । यसले लगानी र उद्यम विस्तारका लागि सहज वातावरण अझै बन्न नसकेको देखाउने उनको तर्क थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा कर्जा वृद्धि दर ५.७ प्रतिशतमा सीमित रहनुले उद्योगी व्यवसायी नयाँ लगानीका लागि उत्साहित नभएको पनि उनले बताइन् । बढ्दो कालोसूचीप्रति चिन्ता व्यक्त गर्दै उनले कर्जा सूचना केन्द्र को तथ्यांकअनुसार १ लाख ६४ हजारभन्दा बढी व्यक्ति तथा संस्था कालोसूचीमा रहेको उल्लेख गरिन् । बजारको शिथिलता र नगद प्रवाहमा आएको संकटका कारण समस्यामा परेका उद्यमीहरूलाई तत्काल दण्डित गर्नुको सट्टा उनीहरूलाई पुनः उत्पादनमा फर्काउने खालको नीति ल्याउनुपर्नेमा उनको जोड छ ।