अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र सहभागी हुन पाउने जनाएको छ । निक्षेप संकलनमा स्वीकृत भएको रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने केन्द्रीय बैंकले जनाएको छ ।