फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड, प्रतिमतदाता २६३ रुपैयाँ खर्च

निर्वाचन आयोगले ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा चुनाव सम्पन्न गरेको छ । फागुन २१ को निर्वाचनका लागि सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ दिएको थियो ।

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न भएको जानकारी दिएका हुन् । फागुन २१ को निर्वाचनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ दिएको पनि सहसचिव भट्टराईले जानकारी दिए ।

यस हिसाबले आयोगले एक मतदाताबराबर २६३ रुपैयाँ खर्च गरेको छ । फागुन २१ को निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता थिए ।