प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध गरिरहेका छन् ।
काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका शर्माले आजै पदभार ग्रहण गर्नेछन् ।
संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध गरिरहेका छन् । सर्वोच्चमा बरिष्ठतम् न्यायाधीशका रुपमा सपना प्रधान मल्ल छिन् । वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने अनुमान गरिएको थियो ।
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो । ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रवाधान अध्यादेशमा राखिएको छ । त्यही अध्यादेश आएपछि संवैधानिक परिषद्ले शर्माको नाम प्रधानन्यायधिसमा सिफारिस गरेको थियो । शर्माको नाम सिफारिसप्रति प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेका थिए ।