सीजी नेटद्वारा वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु, ९० दिनसम्म फुल रिफन्ड अफर
कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले वाई-फाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । ग्राहकलाई अझ तीव्र, भरपर्दो र सहज इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो सेवा सुरु गरेको हो ।
कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । पछिल्लो समय भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, वर्क फ्रम होम तथा स्मार्ट होम डिभाइसहरूको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा यस्तो प्रविधिले बढ्दो इन्टरनेट मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ ।
प्राविधिक रूपमा वाई-फाई सिक्समार्फत अधिकतम ९.६ जीबीपीएससम्मको गति प्राप्त गर्न सकिने बताइएको छ, जुन वाई-फाई फाइभको तुलनामा करिब ४.५ गुणा बढी ब्यान्डविथ हो । साथै, यस प्रविधिमा लेटेन्सी करिब २० मिलिसेकेन्डसम्म सीमित हुने भएकाले भिडियो कल वा अनलाइन गेमिङका क्रममा ल्याग हुने समस्या न्यून हुने कम्पनीको दाबी छ । एकैपटक १२८ वटासम्म डिभाइस सपोर्ट गर्न सक्ने भएकाले धेरै प्रयोगकर्ता हुँदा पनि इन्टरनेटको गुणस्तर स्थिर रहनेछ ।
नेटवर्क क्षमतामा सुधार ल्याउन यसमा आधुनिक प्रविधिहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
नयाँ प्रविधिसँगै कम्पनीले विभिन्न प्याकेजहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट मात्रको वार्षिक शुल्क १४ हजार ४९९ रूपैयाँ तोकिएको छ भने मेस राउटरसहितको प्याकेज १७ हजार १३० रूपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी, आईपीटीभी सहितको प्याकेज १६ हजार २७६ रूपैयाँ तथा आईपीटीभी र मेस राउटर दुवै समावेश भएको प्याकेज १८ हजार ९०७ रूपैयाँमा पाइनेछ ।
साथै, कम्पनीले नयाँ ग्राहकलाई लक्षित गर्दै ४०० एमबीपीएस गतिको इन्टरनेट सेवामा ९० दिनसम्म फुल रिफन्ड अफर समेत ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले सेवा प्रयोग गरी सन्तुष्ट नभएमा ९० दिनभित्र पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।