काम खोज्दै वैशाखमा विदेशिए ७४ हजार बढी नेपाली, तीन देशमा पुगे ६० प्रतिशत
वैशाखमा विदेशिएका मध्ये ६० प्रतिशत हिस्सा मलेसिया, युनाईटेड अरव इमिरेट्स (युएई) र कतारको छ । वैशाखमा १०३ देशमा नेपालीहरु कामको खोजी गर्दै विदेशिएका छन् ।
काठमाडौं । वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली काम खोज्दै वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृति सहित) लिएर विदेशिएका हुन् । यो संख्या चैत महिनामा भन्दा झण्डै साढे १२ हजारले बढी हो ।
श्रम स्वीकृति लिनेमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । विभागकाअनुसार वैशाखमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
२०८२ चैमा ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृति सहित) लिएका थिए ।
चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म ६ लाख ६१ हजार ७ सय ६१ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ५ लाख ८२ हजार ९ सय ३९ पुरुष र ७८ हजार ८ सय २२ महिला छन् ।
विभागकाअनुसार वैशाखमा विदेशिएका मध्ये ६० प्रतिशत हिस्सा मलेसिया, युनाईटेड अरव इमिरेट्स (युएई) र कतारको छ । वैशाखमा सबैभन्दा धेरै मलेसियामा १७ हजार २५२, युएईमा १७ हजार १०८ र कतारमा १० हजार ६६७ नेपाली पुगेका छन् । वैशाखमा १०३ देशमा नेपालीहरु कामको खोजी गर्दै विदेशिएका छन् ।
कामको खोजी गर्दै कुन देशमा कति पुगे