हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न असारसम्म रोक

प्राधिकरणको बैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो ।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स को पुनर्बीमा कारोबारमा रोक लगाएको छ । प्राधिकरणको बैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो । पुनर्बीमा कारोबारमा रोक लगाइए पनि कम्पनीको रेट्रोसेसन व्यापारमा भने प्रभाव नपार्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले वित्तीय पारदर्शिता नदेखिँदासम्म धेरै व्यावसायिक निर्णयमा रोक वा नियन्त्रण लगाएको छ । प्राधिकरणले अनुसन्धानको प्रतिवेदन नआउन्जेल नयाँ ठूला सम्झौताहरुमा रोक लगाउँदै कम्पनीको आन्तरिक सुशासन सुधार्न अल्टिमेटम पनि दिएको छ ।

पछिल्लो समय हिमालय रिको स्थापना, लाइसेन्स प्रक्रिया र संस्थापक शेयरधनीहरुको लगानीको स्रोतलाई लिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयहरुमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेका छन् । विशेषगरी यो प्रकरणमा हिमालयन रिका प्रवर्द्धय दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका छन् । भट्टमाथि कम्पनीको अर्बौं रकम व्यक्तिगत खातामा ट्रान्सफर गरेको र सोही रकमबाट अन्य कम्पनीको सेयर खरिद गरेको आरोप छ ।