जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्यो, कुन बैंकको कति ?

जेठ महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.३४ प्रतिशतमा ब्याजदर कायम गरेका छन् ।

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । बैंकहरुले सावर्जनिक गरेको सूचना अनुसार, वैशाखको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । जेठ महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.३४ प्रतिशतमा ब्याजदर कायम गरेका छन् । वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४२ प्रतिशत थियो । यस्तै, मुद्दती निक्षेपको संस्थागततर्फ औसत ३.२० प्रतिशतमा कायम गरेका छन् । वैशाखमा संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याजदर कायम थियो । जेठ महिनाका लागि ८ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

 सार्वजनिक दर अनुसार नेपाल बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत, एनएमबि बैंकले ४.८० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशत, हिमालयन बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत र एनआईसी एशिया बैंक ४.५० प्रतिशत ब्याज दिने छन् ।

बैंशाखकै ब्याजदरलाई निरन्तरता दिएको कृषि विकास बैंकले ४.१५ प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, कुमारी बैंकले ३.९६ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत, प्राइम कमर्सिगल बैंकले ४.१५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४.५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याज दिनेछन् । 

बैंकरहरूका अनुसार अहिले बैंकहरूमा निक्षेप संकलनको अनुपातमा कर्जाको माग अत्यन्तै न्यून छ । कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा पैसा थुप्रिएको छ, जसको गर्दा ब्याजदर घटाउनु परेको छ ।