५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा साढे ७ अर्ब ऋण लगानी

३० महिनाभित्र काम सक्ने लक्षय

कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ८० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजी (इक्विटी) लगानी गर्ने छ ।

काठमाडौं । दिव्यज्योति हाइड्रोपावरले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ का लागि आवश्यक स्रोत जुटेको छ । आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा सह(वित्तीयकरण मार्फत ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेगरि वित्तीय व्यवस्थापन भएको हो । बुधबार दिव्यज्योति र बैंकहरूबीच ऋण लगानी सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ८० करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजी (इक्विटी) लगानी गर्ने छ । 

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसी सहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका भएर बहने मर्स्याङ्दी नदीमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य आगामी ३० महिनाभित्रै सक्ने लक्ष्य लिइएको छ । 

आयोजनाबाट उत्पादित बिजुली विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब(स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। 

कम्पनीले यसअघि २०७५ भदौ १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद(बिक्री सम्झौता (पीपीए) गरिसकेको छ। त्यस्तै, आयोजनाले २०७४ असोज १ गते ऊर्जा मन्त्रालय, विद्युत विकास विभागबाट उत्पादन अनुमति पत्र प्राप्त गरेको छ ।