स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरण: नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पाण्डे पक्राउ

काठमाडौँ – नेपाल सरकारको मातहतमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पाण्डेलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो। सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीका अनुसार सरकारी स्वामित्वमा आइसकेको सम्पत्तिलाई निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेललाई लिलाम प्रक्रियामार्फत हस्तान्तरण गरेको गम्भीर विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

यो प्रकरणको सुरुवात स्मार्ट टेलिकमको अनुमतिपत्र खारेजी र त्यसपश्चात् सरकारले सो कम्पनीलाई आफ्नो नियन्त्रणमा लिएपछि भएको थियो। सरकारी टेकओभरपछि बैंकले नियमविपरीत सम्पत्ति लिलामी गरेको दाबी गर्दै चार्टर्ड एकाउण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतको आदेश र सिआईबीको प्रारम्भिक अनुसन्धानले यो प्रक्रियामा ठूलो वित्तीय अनियमितता भएको संकेत गरेको छ।

अनुसन्धानका क्रममा यो प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक मात्र नभई प्राइम बैंकको समेत संलग्नता देखिएको सिआईबी स्रोतले जनाएको छ। बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्ने कार्यमा दुवै बैंकको मिलेमतो रहेको र सोही ऋण असुलीका नाममा सरकारी सम्पत्तिमाथि हस्तक्षेप गरिएको पाइएको छ। प्रहरीले हाल पाण्डेलाई हिरासतमा राखी यस प्रकरणमा संलग्न अन्य व्यक्ति र वित्तीय संस्थाहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान अघि बढाएको छ।