विज्ञान शब्दसँग सरकारलाई किन रिस ? : महावीर पुन
विज्ञान प्रविधिको सम्बोधनविना देशको अर्थतन्त्र बलियो बन्न नसक्ने भन्दै उनले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार धारणा राख्दै उनले सो माग राखेका हुन् । नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द उल्लेख नरहेको भन्दै उनले भने, “अहिलेको युवाहरुले बनाएको सरकारले समेत विज्ञान शब्दप्रति के को रिस हो ? खै सम्बोधन गरेको ?” विज्ञान प्रविधि, नवप्रवर्तन विषयमा ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।
विज्ञान प्रविधिको सम्बोधनविना देशको अर्थतन्त्र बलियो बन्न नसक्ने भन्दै उनले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गरे ।
संसद बैठकमा आफूलाई स्वतन्त्र सांसद भनेर ५ मिनेट समय निर्धारण गरेकोप्रति उनले आपत्ति जनाए । उनले भने “एक्लो माननीय भनेर हेला नगरियोस् । किनभने अरुले १०-२० मिनेट पाउँदाखेरी मलाई ५ मिनेट नदिने ? म एक्लो छैन । तपाईंहरूको कुनै पनि पार्टीको सदस्यहरूको भन्दा मेरो समर्थकहरू धेरै छन् नेपालमा । साँच्चिकै पत्याउनुहुन्न भने जनमत लिनुहोस्,” सांसद पुनले भने, “जनमत लिनुहोस् बाहिर गएर । म एक्लो छैन मेरो साथमा सारा नेपालीहरू छन् । सबैले चिन्छन्, बच्चा बच्चाहरूले चिन्छन् । टोल टोलमा चिन्छन् बस्ती बस्तीमा चिन्छन् । त्यसकारण मलाई स्वीकार्य छैन ।”