९ महिनामा नेप्सेमा सूचीकृत भयो साढे ४५ अर्बको साधारण सेयर, बोनस र हकप्रद पनि उल्लेख्य
समग्रमा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.२ प्रतिशत छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत छ ।
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सेयर बजारमा साढे ४५ अर्ब रुपैयाँबराबरको साधारण सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०८२/८३ को नौ महिना (चैतसम्म) ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर सूचीकृत भएको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यसअवधिमा ३९ अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर र ९ अर्ब ६४ करोड रुपैयाँबराबरको हकप्रद सेयर पनि सूचीकृत भएको छ । यसबीचमा २७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको थप प्राथमिक निस्काशन (एफपीओ) र २ करोड २९ लाख बराबरको अन्य सेयर गरी १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएको हो ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद सेयर, २० करोडको डिबेन्चर र ५ करोडको एफपीओ गरी ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
२०८२ चैतसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २९४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका छन् । २०८१ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७० थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.२ प्रतिशत छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत छ ।