विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक, १८.४ महिनाको आयात धान्न पर्याप्त
मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब बचतमा
चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ । शोधनातर स्थिति बचतमा रहनु भनेको समग्रमा मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुनु हो ।
काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष ९ महिना (चैत मसान्त) सम्म ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड बराबर रहेको सञ्चिति चैत मसान्तसम्म २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको छ । उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैतसम्म २७.७ प्रतिशत वृद्धि भई ३० खर्ब ८२ अर्ब पुगेको छ ।
अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रहेकोमा ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ । ९ महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ५७.२ प्रतिशत बराबर छ । असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो ।
९ महिनामा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ ।
उता, चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ । शोधनातर स्थिति बचतमा रहनु भनेको समग्रमा मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुनु हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड डलर बचतमा पुगेको हो ।
त्यस्तै समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो । चालु आवको ९ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ९४ करोड भित्रिएको थियो ।