नीति तथा कार्यक्रमको प्रतीक्षाबीच ३८.१९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा धेरै

सोमबार नेपाल स्टक एक्सेन्ज नेप्से परिसूचक ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको छ ।

 काठमाडौं । सरकारले आज संसदमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला नेप्से परिसूचक बढेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसूचक ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । शुक्रबार भने ३ अर्ब २८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । .सोमबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १४.१९ प्रतिशत बढेको छ । त्यस्तै, कुमारी धनवृद्धि योजनाको इकाइमूल्य किरब साढे ११ प्रतिशत बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको साढे १७ करोड रुपैयाँभन्दा बढीकाो सेयर किनबेच भएको छ । 

सोमबार कारोाबारमा आएकामध्ये २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।