स्थानीय तहले कम्पनी दर्ता र सेयर लगानी गर्न सक्ने, सौर्य उर्जामा लगानीको ढोका खुल्यो

स्थानीय तहले आफ्नै कार्यविधि वा कानुन बनाएर निर्णय गर्नुपर्नेछ भने कम्पनी दर्ता र सञ्चालन गर्दा ‘कम्पनी ऐन २०६३ र अन्य प्रचलित कानुनहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

काठमाडौं । सरकारले सौर्य उर्जाका क्षेत्रमा स्थानीय तहहरुले पनि लगानी गर्न सक्ने गरि बाटो खोलिदिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैँ कम्पनी दर्ता गर्न र सौर्य उर्जा क्षेत्रका कम्पनीहरूको सेयर खरिद गरी स्वामित्व लिन पाउने व्यवस्था गरेको छ । 

२०८३ वैशाख २५ गते एक सूचना जारी गर्दै रजिस्ट्रारको कार्यालयले स्थानीय सरकारहरूले प्रचलित कानुनको परिधिभित्र रही व्यावसायिक क्षेत्रमा प्रत्यक्ष लगानी गर्न सक्ने जनाएको छ । कार्यालयका अनुसार, विशेष गरी सौर्य ऊर्जा लगायतका उत्पादनमूलक क्षेत्रमा कम्पनी संस्थापना गर्न र सेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट माग भई आएकाले सहजीकरण गरिएको सूचनामा उल्लेख छ । 

कार्यालयको यो निर्णयसँगै स्थानीय सरकारहरूले आफूलाई आवश्यक लागेको खण्डमा आँफै कम्पनी संस्थापना गरि सौर्य उर्जाका क्षेत्रमा काम गर्न सक्नेछन् । यसले सौर्य उत्पादनमा सकारात्मक प्रभाव त पार्छ नै स्थानीय तहहरुले आर्थिक संघीयताको भावनाअनुसार लगानीका क्षेत्रहरु पहिचानमा समेत सहयोग मिल्नेछ ।

यसबाट स्थानीय तहले आफ्नै लगानीमा कम्पनी सञ्चालन गरी नाफा कमाउन, स्थानीय तहको आन्तरिक आय बढाउन र केन्द्रको अनुदानमा रहेको निर्भरता घटाउन सहयोग पुग्नेछ । तर, त्यसका लागि स्थानीय तहले आफ्नै कार्यविधि वा कानुन बनाएर निर्णय गर्नुपर्नेछ भने कम्पनी दर्ता र सञ्चालन गर्दा ‘कम्पनी ऐन २०६३ र अन्य प्रचलित कानुनहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

प्रकाशन भएका दस्तावेजहरू

69fdd351ceb9d_1778242385.pdf