आईएमएफले नेपालका लागि विस्तारित कर्जा सुविधाको अवधि २ महिनालाई थप्यो
आगामी जुलाई ११ सम्मका लागि अवधि थप भएको हो ।
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसीएफ) को समयावधि दुई महिना थप गरेको छ । आगामी जुलाई ११ सम्मका लागि अवधि थप भएको हो ।
कार्यकारी बोर्डले नेपाल सरकारको आग्रहअनुसार ईसीएफ कार्यक्रमको अवधि दुई महिनाका लागि थप गर्ने प्रस्ताव स्वीकृत गरेको कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालले यो कार्यक्रमअन्तर्गत कुल ३८ महिनाका लागि सहुलियतपूर्ण ऋण सुविधा पाएको थियो। उक्त सुविधा सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । कार्यक्रमअन्तर्गत नेपालले करिब २८२.४२ मिलियन एसडीआर बराबरको सहायता पाउने व्यवस्था छ, जुन अमेरिकी डलरमा करिब ३८० देखि ३९० मिलियन डलर बराबर पर्न जान्छ ।
यो पैसा नेपाललाई एकैचोटि नदिइएर चरण-चरणमा दिइन्छ । तर त्यो पाउन नेपालले आर्थिक सुधार, कर प्रणाली सुधार, बैंकिङ क्षेत्र सुधार, र सरकारी खर्च व्यवस्थापनजस्ता सर्तहरू पूरा गर्नुपर्छ । यस कार्यक्रमको अवधि पहिले नै पटक-पटक बढाइँदै आएको थियो । पहिला २०२६ जनवरीसम्म, पछि मे २०२६ सम्म र अहिले आगामी जुलाईसम्म थपिएको हो। थपिएको यो समय अन्तिम समीक्ष पूरा गर्न र बाँकी किस्ता दिनका लागि हो ।