४४ दिनको लागि २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
केन्द्रीय बैंकले ४४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो । यस निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ५ गते गरिनेछ । राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।