एनआईसी एशिया क्यापिटलले सुरु गर्न लागेको ‘सिस्टमेटिक ट्रान्सफर प्लान’ कस्तो योजना हो? लगानी कसरी गर्ने?
काठमाडौं । नेपालमा केही वर्ष अघि भित्रिएको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)ले राम्रै लोकप्रियता कमाइसकेको छ । एसआईपीले एक हदसम्मको लोकप्रियता कमाउँदै गर्दा यसलाई थप प्रभावकारी बनाउने र लगानी गर्न चाहनेलाई फराकिलो दायरा प्रदान गर्ने योजनाको रुपमा ‘सिस्टमेटिक ट्रान्सफर प्लान (एसटीपी)’ पनि सुरु हुन लागेको छ ।
एसटीपी एसआईपी जस्तै म्युचुअल फन्डकै एक योजना हो, तर यसमा एउटा म्युचुअल फन्डमा रहेको रकमलाई योजनाबद्ध तरिकाले अर्को म्युचुअल फन्डमा सार्न सकिन्छ । यो विशेषगरी दीर्घकालीन सम्पत्ति व्यवस्थापन र लगानीमा जोखिम न्यूनीकरण गर्नका लागि डिजाइन गरिएको नयाँ वित्तीय लगानीको योजना हो ।
लगानीकर्ताको दीर्घकालीन सम्पत्ति व्यवस्थापनलाई लक्षित गर्दै लगानी कम्पनीहरूले यो सुविधा उपलब्ध गराउने योजना अगाडि बढाइएको हो । एनआईसी एशिया क्यापिटलले पहिलो पटक यस्तो योजना सुरु गर्न लागेको छ । जसमा यो योजना एनआईसी एशिया क्यापीटलका दुईवटा फन्डमा सञ्चालन हुनेछ । उक्त दुई फन्ण्डमा इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम (ईएलआइएस) र डाइनामिक डेप्ट फन्ड हुन् ।
यी दुइओटा दुईवटा म्युचुअल फन्डमध्ये कुनै एकमा लगानी छ भने सो रकम एक अर्कामा ट्रान्सफर गर्न सकिन्छ । इएलआईएस इक्विटीमा आधारित योजना हो, जसले सेयर बजारमा लगानी गर्छ । डाइनामिक डेब्ट फन्ड सुरक्षित र स्थिर प्रतिफल दिने योजना हो । यो डिबेन्चरमा आधारित फन्ड भएकाले बजारको उतारचढावको असर पर्दैन र हरेक वर्ष लाभांश दिने प्रावधान हुन्छ ।
एसटीपीले यी दुई योजनाबीच रकम ट्रान्सफर गर्ने सुविधा दिन्छ । यदि लगानीकर्ताले इएलआइएसमा गरेको लगानी घटेको अवस्थामा सो लगानीलाई सुरक्षित गर्न चाहे भने नियमित अन्तरालमा किस्तामा डाइनामिक डेब्ट फन्डमा सार्न सक्छन् । त्यसैगरी, स्थिर फन्डबाट बढी प्रतिफल लिन चाहेको अवस्थामा भने सो लगानीलाई फेरि इक्विटी–आधारित इएलआइएसमा ट्रान्सफर गर्न सकिन्छ ।
के हो एसटीपी?
एसटीपी भनेको पूर्वनिर्धारित समयको अन्तरालमा एउटा म्युचुअल फन्ड स्किमबाट अर्को स्किममा नियमित रूपमा रकम स्थानान्तरण गर्ने योजना हो । सामान्य रुपमा भन्दा एसटीपी भनेको योजनाबद्ध रूपमा एउटा फन्डबाट अर्को फन्डमा पैसा सार्ने प्रक्रिया हो । जस्तै, एसआईपी गरेको रकम व्यक्तिलाई प्राप्त भएपछि त्यो रकम अर्को फण्डमा राख्नका लागि बनाइएको अर्को फन्ड एसटीपी हो ।
एसटीपीको प्रयोग विशेषगरी एकमुष्ट प्राप्त रकम व्यवस्थापनका लागि उपयुक्त मानिन्छ । उदाहरणका रूपमा, कसैसँग बोनस, सम्पत्ति बिक्री वा दीर्घकालीन बचतबाट ठूलो रकम आएको अवस्थामा सो रकम सिधै उच्च जोखिमयुक्त इक्विटी बजारमा लगानी गर्नुको सट्टा सुरुमा सुरक्षित ‘डेट फन्ड’ मा राखिन्छ । त्यसपछि त्यही फन्डबाट निश्चित अन्तरालमा सानो–सानो भागमा इक्विटी फन्डतर्फ स्थानान्तरण गरिन्छ ।
यस प्रक्रियाले लगानीकर्तालाई बजारको उतारचढावबाट जोगाउँदै क्रमिक रूपमा इक्विटीमा प्रवेश गराउने काम गर्छ । बजार उच्च अवस्थामा हुँदा एकैपटक ठूलो लगानी गर्दा हुने जोखिम घटाउने र बजार घट्दा सस्तो मूल्यमा थप युनिट खरिद गर्ने अवसर दिने भएकाले यसलाई ‘कस्ट एभरेजिङ’ रणनीतिसँग पनि जोडेर हेरिन्छ ।
एसटीपीअन्तर्गत दुई प्रमुख स्किम रहने गर्छन् जुन सोर्स स्किम’ र ‘टार्गेट स्किम’ हुन् । सोर्स स्किम भनेको जहाँबाट रकम ट्रान्सफर हुन्छ (सामान्यतया डेट फन्ड) र टार्गेट स्किम भनेको जहाँ रकम स्थानान्तरण हुन्छ (सामान्यतया इक्विटी फन्ड)। यो प्रक्रिया पूर्ण रूपमा स्वचालित र सिस्टमेटिकक हुने भएकाले लगानीकर्ताले हरेकपटक म्यानुअल रूपमा कारोबार गर्नुपर्दैन ।
हाल नेपालमा एउटै एसेट म्यानेजमेन्ट कम्पनीअन्तर्गतका ओपन–इन्डेड म्युचुअल फन्डहरूबीच मात्र एसटीपी सम्भव हुने देखिन्छ । यस सन्दर्भमा एनआईसी एशिया क्यापिटलले सञ्चालन गर्दै आएको ‘डाइनामिक डेट फन्ड’ र सुरु हुन लागेको ‘इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’ बीच एसटीपी सुविधा उपलब्ध हुने बताइएको छ ।
जसअनुसार एसटीपी तीन प्रकारका हुनछन् । पहिलो ‘फिक्स्ड एसटीपी’ हो, जसमा निश्चित रकम नियमित अन्तरालमा ट्रान्सफर हुँदै जान्छ । दोस्रो ‘फ्लेक्सिबल एसटीपी’ हो, जसमा लगानीकर्ताले बजार अवस्थाअनुसार ट्रान्सफर रकम घटबढ गर्न सक्छन् । तेस्रो ‘क्यापिटल एप्रिसिएसन एसटीपी’ हो, जसमा मूल लगानी जोगाइराख्दै केवल नाफा मात्र अर्को फन्डमा स्थानान्तरण गर्न मिल्छ ।
यसका प्रमुख फाइदाहरू बचत खाताभन्दा राम्रो प्रतिफलको सम्भावना, बजार जोखिम व्यवस्थापन, क्रमिक लगानी (एभरेजिङ) को लाभ र अनुशासित लगानी बानी विकास समावेश आदी हुन् । विशेषगरी नेपालको अस्थिर सेयर बजारमा जोखिम कम गर्दै लगानी विस्तार गर्न एसटीपी उपयोगी रणनीतिको रुपमा रहेको छ ।
कतैबाट प्राप्त भएको एकमुष्ट रकमलाई सुरक्षित रूपमा लगानी गर्दै क्रमशः उच्च प्रतिफलको सम्भावना भएको क्षेत्रमा सार्ने भएकाले एसटीपीलाई ‘स्मार्ट इन्भेस्टमेन्ट टुल’ का रूपमा लिन सकिन्छ । रेमिट्यान्स, बोनस वा निष्क्रिय रकमलाई प्रभावकारी रूपमा प्रयोग गर्न यो उपयुक्त माध्यम हुनसक्दछ ।
एसटीपी भनेको एउटा म्युचुअल फन्ड योजनाबाट अर्को योजनामा पूर्वनिर्धारित समय र मात्रामा नियमित रूपमा रकम स्थानान्तरण गर्ने प्रक्रिया हो, जसलाई विशेषगरी एकमुष्ट प्राप्त भएको ठूलो रकमलाई जोखिम व्यवस्थापन गर्दै लगानी गर्न प्रयोग गरिन्छ ।
सामान्यतया सुरुमा सुरक्षित मानिने ‘डेट फन्ड’ मा पैसा राखेर बिस्तारै बढी प्रतिफल दिने ‘इक्विटी फन्ड’ मा सार्दा बजारको अस्थिरताको जोखिम कम हुन्छ र लगानीकर्ताले स्मार्ट तरिकाले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सक्छन् ।