समस्याग्रस्त सहकारीका ७६ हजार बचतकर्ताको ४६ अर्ब फिर्ता प्रक्रिया जेठबाट सुरु हुने
अहिलेसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खातामा ३५ करोड जम्ममा भइसकेको समितिले जनाएको छ ।
काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता प्रक्रिया आगामी जेठ पहिलो सातादेखि सुरु गर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हाल करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार छ । समितिले माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य जेठ पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्तासँग साउन पहिलो साता निवेदन लिने बताएको छ । त्यस्तै, कर्जा असुलीलाई पनि समानान्तर रूपमा अघि बढाइने र आवश्यक परे चक्रीय कोषबाट अस्थायी रूपमा स्रोत व्यवस्थापन गरिने समितिको भनाइ छ । अहिलेसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खातामा ३५ करोड जम्ममा भइसकेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ता प्रक्रिया सुरु गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिँदै पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइने बताइन् ।