सार्वजनिक पूर्वाधारको बीमा अब अनिवार्य, प्राधिकरणको सञ्चालकमा भौतिक पूर्वाधारका प्राविधिक सदस्य थपियाे

बीमाको दायरालाई फराकिलो बनाउन अध्यादेशले ऐनमा नयाँ दफा ७२क थप गर्दै सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी विशेष कानूनी व्यवस्था गरेको छ ।

काठमाडौं । सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमालाई अनिवार्य गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् बीमा ऐनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।

बीमाको दायरालाई फराकिलो बनाउन अध्यादेशले ऐनमा नयाँ दफा ७२क थप गर्दै सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी विशेष कानूनी व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी अन्य प्रावधानहरू अब तोकिए बमोजिम हुनेछन् । यी परिवर्तनहरूले विशेष गरी ठूला विकास निर्माणका आयोजनाहरूको जोखिम व्यवस्थापन र बीमा क्षेत्रमा प्राविधिक जनशक्तिको भूमिकालाई बलियो बनाउने अपेक्ष गरिएको छ । 

हालसम्म सार्वजनिक पूर्वाधारहरूको बीमा नहुँदा त्यस्तो सम्पत्तिमा हुने क्षतिको दायित्व सरकारलाई नै पर्दै आएको थियो ।

यस्तै, सरकारले अध्यादेश संशोधनमार्फत् सरकारले बीमा ऐन २०७९ को दफा ६ को उपदफा (१) को खण्ड (ग) पछि खण्ड (ग१) थपिएको छ । जसमा सहसचिव (प्राविधिक), भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालय-सदस्य, भनिएको छ । यसअनुसार अब प्राधिकरणको सञ्चालक समितिमा भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालयको सहसचिव (प्राविधिक) पनि रहनुपर्ने छ । यस व्यवस्थाअनुसार अब बीमा प्राधिकरणको सञ्चालकमा थप एक जना सदस्य थपिएको छ । 

यस्तै, सरकारले प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष वा सदस्यका लागि तोकेको योग्यतामा पनि इञ्जिनियरिङ हुनुपर्ने बनाएको छ । संशोधनमार्फत् सरकारले दफा ८ को उपदफा (१) को खण्ड (क) मा रहेका ‘बिमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र,’ भन्ने शब्दहरू पछि ‘इञ्जिनियरिङ’ भन्ने शब्द थपिएको हो ।