भाषा संरक्षणमा राज्यले करोडौं लगानी, तर उपलब्धि देखिएनः मन्त्री श्रेष्ठ

भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले राज्यको लगानी र वास्तविक उपलब्धिबीच ठूलो अन्तर रहेको औंल्याए ।

काठमाडौं । बागमती प्रदेश सरकारले भाषा संरक्षण र प्रवर्द्धनका लागि ठूलो रकम खर्च गरिरहेको भए पनि त्यसको प्रभावकारी नतिजा नदेखिएको भन्दै संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चिन्ता व्यक्त गरेका छन् । भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले राज्यको लगानी र वास्तविक उपलब्धिबीच ठूलो अन्तर रहेको औंल्याए । “राज्यले करोडौं खर्च गर्ने, तर नयाँ पुस्ताले आफ्नै मातृभाषा नजान्ने अवस्था रहिरहे त्यो लगानी बालुवामा पानी हाल्नुजस्तै हुन्छ,” उनले भने । उनले भाषा प्रवर्द्धनका कार्यक्रम औपचारिकतामै सीमित हुन नहुनेमा जोड दिँदै अब परिणाममुखी काम आवश्यक भएको बताए ।

भाषा प्रवद्र्धनका कार्यक्रम औपचारिकतामा मात्र सिमित हुन नहुने बताउँदै उनले वास्तविक उपलब्धि हासिल गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले भाषा संरक्षणका लागि घर-घर, टोल-टोल र विद्यालय स्तरबाटै अभियान चलाउनुपर्ने आवश्यकता औंल्याए। साथै, मन्त्रालयले गरेको लगानीको आधारमा कति व्यक्तिले भाषा र लिपि सिके भन्ने स्पष्ट तथ्यांक संकलन र मूल्यांकन अनिवार्य गर्नुपर्ने उनको भनाइ छ ।

भाषासम्बन्धी ऐनको नियमावली ल्याउन ढिलाइ भएको स्वीकार्दै उनले छिट्टै नै त्यसलाई टुंग्याउने प्रतिबद्धता जनाए । वैशाख २४ गते नै ल्याउने तयारी भए पनि लगातार परेको सार्वजनिक बिदाका कारण प्रक्रिया केही पछाडि धकेलिएको उनले बताए । त्यसैगरी, बागमती प्रदेशमा आफ्नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने काम पनि अघि बढिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए । यद्यपि, यसलाई प्रदेशले थेग्न सक्छ कि सक्दैन भन्ने विषयमा आन्तरिक बहस जारी रहेको उनले उल्लेख गरे ।