याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले बैशाख १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत तथा ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।