नेपाल राष्ट्र बैंकद्वारा ७ अर्ब ३० करोड निक्षेपमा लगानीका लागि ब्याजदर प्रस्ताव आह्वान

नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर प्रस्ताव आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले रकम लिनका लागि ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । साथै उक्त ७ अर्ब ३० करोडमा वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड राष्ट्रिय स्तरका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख लगानी गर्न लागेको हो ।  

प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त राखिएको छ । साथै तरलता अनुपात, कर्जा-निक्षेप अनुपात तथा नाफा स्थिति पनि तोकिएको मापदण्डअनुसार हुनुपर्नेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले २०८३ वैशाख २३ गते साँझ ७ बजेसम्म इमेलमार्फत प्रस्ताव पठाउन सक्नेछन् । प्रस्तावित फाइल पासवर्ड प्रोटेक्टेड गरी पठाउनुपर्ने र सो पासवर्ड भोलिपल्ट दिउँसो १ बजेसम्म उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।