राष्ट्रपतिद्वारा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी

भूमि, जग्गा नाप जाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामति र बिमा लगायत कानुनमा देखिएको अवरोध हटाइएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार (वैशाख २०) केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । यो अध्यादेशमार्फत २० वटा ऐन संशोधन भएको छ । भूमि, जग्गा नाप जाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामति र बिमा लगायत कानुनमा देखिएको अवरोध हटाइएको छ ।

त्यस्तै, शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश गरेका थिए । 

बिहीबार (वैशाख १७) सहकारी (पहिलो संशोधन) अध्यादेश र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए । सरकारले ती अध्यादेशमार्फत सम्बन्धित क्षेत्रमा देखिएका कानुनी जटिलता समाधान गर्दै सेवा प्रवाह र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।