वायुसेवा कम्पनीको सरकारसँग राहत माग, ल्याण्डिङदेखि पार्किङ शुल्क घटाउन आग्रह
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंग पाण्डेले राहतरसहुलियत सम्बन्धमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई ४ बुँदे मागपत्र बुझाएका छन् ।
काठमाडौं । वायुसेवा कम्पनीहरुले इन्धनको बढ्दो मूल्यका कारण व्यापार उल्लेख्य रुपमा घटेको भन्दै सरकारसँग राहत सहुलियत मागेका छन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंग पाण्डेले राहतरसहुलियत सम्बन्धमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई ४ बुँदे मागपत्र बुझाएका छन् ।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो ।
संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न माग गरेको छ । हाल मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानका लागि प्रत्येक अवतरण वा उडानमा अमेरिकी डलर १० तिर्नुपर्ने व्यवस्था रहेकाले यसले सञ्चालन लागत बढाउनुका साथै यात्रु भाडादर पनि महँगो हुने संघको भनाइ छ ।
संघले दिएको जानकारी अनुसार पहिले कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३०-४० प्रतिशत हुने गरेपनि हाल यो बढेर ५५-६० प्रतिशत पुगेको छ । यसले कम्पनीहरूको आर्थिक प्रवाहमा गम्भीर दबाब परेको जनाएको छ ।