स्टार्टअप कर्जाका लागि १३०१ परियोजना प्रारम्भिक छनोटमा: कृषिमा आकर्षण बढी

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्धारा प्रकाशित सूचनामा प्रस्तावित परियोजनामध्ये १ हजार ३०१ ओटा प्रारम्भिक छनोटमा परेका छन् ।

काठमाडौँ । ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’अन्तर्गत प्रारम्भिक चरणमा छनोट भएका परियोजनाको सूची सार्वजनिक भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्धारा प्रकाशित सूचनामा प्रस्तावित परियोजनामध्ये १ हजार ३०१ ओटा प्रारम्भिक छनोटमा परेका छन् । प्रतिष्ठानका अनुसार स्टार्टअप कर्जामा युवा उद्यमीको सबभन्दा बढी आकर्षण कृषि र पशुपालन क्षेत्रमा देखिएको छ। छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेका छन् ।

कृषिबाहेक साना तथा मझौला उत्पादनमूलक उद्योग, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटन सँग सम्बन्धित स्टार्टअप पनि समावेश छन् ।

प्रारम्भिक सूचीका अनुसार मुगु, डोल्पा, मधेस र उपत्यकाका धेरै नयाँ उद्यमीले स्टार्टअप कर्जा मागसहित उद्यमका लागि आवेदन दिएका छन् । 

चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि गत कात्तिक १९ गते देशभरबाट आवेदन आह्वान गरिएको थियो । उक्त कार्यक्रममा कुल १० हजार २४४ ओटा आवेदन परेका थिए । तीमध्ये ८ हजार २०३ ओटा अनलाइनमार्फत र २ हजार ४१ ओटा भौतिक रूपमा दर्ता भएका थिए ।

प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूले अब अन्तिम छनोट प्रक्रियाका लागि थप व्यावसायिक विवरण पेस गर्नुपर्नेछ । प्रतिष्ठानले स्थलगत निरीक्षण, फोटो तथा भिडियो प्रमाण र थप प्राविधिक मूल्याङ्कनका आधारमा अन्तिम सूची तयार पारिने जनाएको छ । यसका लागि प्रस्तावकहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट तोकिएको ढाँचा डाउनलोड गरी आफ्नो व्यवसायसम्बन्धी पूर्ण विवरण भर्नुपर्नेछ । उक्त विवरण आगामी वैशाख २३ गतेभित्र तोकिएको ह्वाट्सएप नम्बरमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएको समयभित्र विवरण नबुझाउने प्रस्तावक स्वतः अयोग्य हुने प्रतिष्ठानले जनाएको छ।

प्रकाशन भएका दस्तावेजहरू

69f57c0253398_1777695746.pdf