आज २५७०औं बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम हुदैँ
शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ ।
काठमाडौं । आज २५७०औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ-प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू.५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू.५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति-मिति मिल्न आउँछ । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।