तरलता व्यवस्थापन गर्न ९७ दिनका लागि १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९७ दिनका लागि उठाउन लागेको हो । यसका लागि आज दिउँसो बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९७ दिनका लागि उठाउन लागेको हो । यसका लागि आज दिउँसो बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ ।

बोलकबोलमार्फत ब्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् । बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिँदै क्रमशः कुल आह्वान रकम १ खर्ब २० अर्ब रुपैयाँसम्म बाँडफाँट गरिनेछ । राष्ट्र बैंकले साँवा तथा ब्याज साउन २० गते भुक्तानी गर्नेछ ।