चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच सम्झौता, चीनले ११ अर्ब अनुदानमा बनाइदिने

बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त चक्रपथ निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

काठमाडौं । काठमाडौंमा दोस्रो चरणको चक्रपथ विस्तारकोअन्तर्गत सहायतासम्बन्धी सम्झौतामा सरकार र चिनिया पक्षबीच औपचारिक सम्झौता भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त चक्रपथ निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नेपालका तर्फबाट भौतिक पूर्वाधार, यातायातमन्त्री सुनिल लम्साल र चीनका तर्फबाट राजदूत झाङ माओमिङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ ।

यो परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। चीनको सहयोगमा यसअघि चक्रपथको कोटेश्वर-कलंकी खण्ड विस्तार गरिएको थियो ।

मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्ने गरी सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

लम्सालले उत्तर-दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको भन्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्ष व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

राजदूत माओमिङले उपयुक्त वातावरण बने धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको जवाफ दिए ।