प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत छैनः विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावकै कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको दाबी गरेका छन्। उनले प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत नरहेको समेत बताए ।

पौडेलले विगतका घटनाक्रमको स्मरण गर्दै २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको प्रसंग उल्लेख गरे । उनका अनुसार, एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले आफ्नो हठ नत्यागेका कारण अन्ततः उनले सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो। पौडेलले त्यसबेला प्रचण्डले सेना प्रमुख हटाएर आफ्नो अनुकूलको व्यक्ति राख्दै सत्ता कब्जा गर्ने रणनीति बुनेको आरोप लगाए। उनले भने, “हामीले उहाँलाई यो बाटो आत्मघाती हुन्छ भनेर पटक-पटक सम्झायौँ, तर उहाँले मान्नुभएन। उहाँले निकै कडा जवाफ दिनुभएको थियो- म अगाडि बढिसकेँ, अल्झाउने काम नगर्नुस्।”

पौडेलले माओवादीले शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात गर्न नसक्दा र ‘सत्ता कब्जा’ को धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको तर्क गरे। उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे।

उनले थप स्पष्ट पार्दै भने, “खासगरीकन म यहाँहरूसँग के आग्रह गर्न चाहन्छु भने अघि यहाँ चर्चा भयो आजसम्म आइपुग्दा नेपालमा यो माओवादी नामको सङ्गठनको अस्तित्व समाप्त भएको छ। आज करिब समाप्त भएको छ। प्रचण्डले नेतृत्व गरेको भनिएको माओवादी अहिले माओवादी छैन। वास्तवमा उसले माओवाद परित्याग गर्‍या छ, जनयुद्ध परित्याग गर्‍या छ र हिजोका जेजस्ता उग्रवामपन्थी धङधङीहरू थिए, त्योबाट अलग भएको छ।”

यद्यपि, पौडेलले उग्रवामपन्थबाट अलग भए पनि माओवादी केन्द्रले ठीक ढङ्गले हिँड्न नसकेको टिप्पणी गरे । उनले भने, “तर ठीक ढङ्गले हिँड्न नसक्दाखेरि उग्रवामपन्थबाट अलग भए पनि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने त्यो हैसियत पनि त्यो सङ्गठनसँग, त्यो नेतृत्वसँग छैन भन्नेकुरा म बताउन चाहन्छु। माओवादी सिध्याइएको छ। माओवादी भन्ने करिब-करिब अहिले चाहिँ केही माओवादी नामका केही साना समूहहरू भए पनि जुन त्यसको मूलधार हो, त्यो मूलधारले माओवाद आफैँले परित्याग गरिसक्या छ।” पौडेलको यो भनाइले नेपाली राजनीतिमा माओवादी केन्द्रको भूमिका र भविष्यबारे नयाँ बहस सिर्जना गरेको छ।