बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक
केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४९ दिनका लागि उठाउन लागेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४९ दिनका लागि उठाउन लागेको हो ।
यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।