सरकारी सवारी साधन दुरुपयोगमा रोक, कर्मचारीबाट ६२२ गाडी खोसियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँच र शक्तिको भरमा सवारी साधन सुबिधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म ६२२ वटा सवारी साधन फिर्ता लिएको छ ।

काठमाडौँ । सरकारले सरकारी सवारी साधनको दुरुपयोग रोक्न कडा कदम चालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँच र शक्तिको भरमा सवारी साधन सुबिधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म ६२२ वटा सवारी साधन फिर्ता लिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङ्ग्रे सरकारी सवारीसाधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो । अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीसाधनको विस्तृत विवरण माग गरिएको थियो । प्राप्त तथ्याङ्कका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० वैशाखमा सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारीसाधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा कानुनविपरीत प्रयोग भइरहेका सवारी साधनहरू फिर्ता गरिएको हो । अब आगामी दिनमा कानुनले तोकेबाहेकका कुनै पनि कर्मचारी वा पदाधिकारीले सरकारी सवारी साधनको एकल प्रयोग गर्न पाउने छैनन् । तर, काम विशेष वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सरकारी सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।

कानुनविपरीत सरकारी सवारीसाधन प्रयोग गर्दा सरकारलाई कति आर्थिक भार परेको रहेछ भन्नेबारे पनि विस्तृत अध्ययन भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै इन्धन, मर्मतसम्भार र सुविधाका नाममा भइरहेको व्ययभार कम गर्न यो कदम चालेको जनाएको छ ।