शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न थप ३ दिनको म्याद थप

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको आरोपमा पक्राउ परेका गोल्छामाथि अनुसन्धान जारी राख्न अदालतले सोमबार म्याद थप गरेको हो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगी तथा व्यवसायी शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको आरोपमा पक्राउ परेका गोल्छामाथि अनुसन्धान जारी राख्न अदालतले सोमबार म्याद थप गरेको हो ।

गोल्छा गत बिहीबार पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई पक्राउ गरी ४ दिन म्याद थपेर अनुसन्धान भइरहेकामा गोल्छा थप ३ दिन सीआईबी नियन्त्रणमा बस्ने भएका हुन् । हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि गोल्छालाई पक्राउ थियो ।