बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि तारबारको काम थालिने
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् । थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्ष र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन् ।
डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिइन् । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ ।
नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।
यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराएका थिए । आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ । तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।