नेपाल बैंकको नाफा सामान्य बढ्यो, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

काठमाडौं । नेपाल बैंकको नाफामा सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड  २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँको तुलनामा ०.३४ प्रतिशतले मात्र बढी हो । 

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ७ अर्ब १० करोड ७ लाख ५२ हजार खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षको चैतसम्ममा ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार आर्जन गरेको छ ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ६८ करोड ४३ लाख ६२ हजार, कुल सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार र सञ्चालन नाफा ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार कायम भएको छ । चैतसम्ममा बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्षको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख १८ हजार थियो भने गत चैतसम्ममा ३२ करोड १३ लाख ३४ हजार रहेको छ ।

नेपाल बैंकले निष्क्रिय कर्जामा भने सुधार ल्याएको छ । गत आवको तेस्रो त्रैमासमा ५.४५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ४.९६ प्रतिशतमा झरेको छ । निष्क्रिय कर्जामा सुधारका बाबजुद पनि बैंकले आफ्नो प्रतिवेदनमा निष्क्रिय कर्जा र यसको व्यवस्थापनलाई अझै पनि आन्तरिक चुनौतीको रूपमा उल्लेख गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसाबाट बढेर २५ रुपैयाँ ३४ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ , पुँजी कोष १३.०५ प्रतिशत र प्राथमिक पुँजी कोष अनुपात १०.३७ प्रतिशत छ । बैंकको आधार दर ४.७१ प्रतिशतमा झरेको छ भने स्प्रेड दर पनि घटेर ३.७० प्रतिशतमा सीमित भएको छ । यस्तै, खराब कर्जा अनुपात (एनपीएल) पनि ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा आएको छ । बेस रेट समेत ५.९६ प्रतिशतबाट घटेर ४.७१ प्रतिशतमा सीमित भएको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रहेको छ भने बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख २७ हजार सञ्चित छ ।