एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा भने ४ अर्बभन्दा बढी
समीक्ष अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.२२ प्रतिशतले बढी हो ।
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवमा आर्जन गरेको तु्लनामा ३.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
बैंकको नाफामा सामान्य गिरावट देखिए पनि सञ्चालन आम्दानी र व्यवसाय विस्तारमा भने सुधार देखिएको छ । समीक्ष अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.२२ प्रतिशतले बढी हो ।
खुद ब्याज आम्दानी पनि बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिशन आम्दानी १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यद्यपि, सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । बैंकले ९ महिनाको अवधिमा कर्जा उच्च गतिमा बढाएको देखिन्छ । असार मसान्तसम्म २ खर्ब १३ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।
वितरणयोग्य मुनाफा ४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतभन्दा बढी वृद्धि हो ।
बैंकले निष्क्रिय कर्जा (एनपीएल) घटाउन सफल भएको छ । अघिल्लो वर्ष ०.६४ प्रतिशत रहेको खराब कर्जा घटेर ०.६१ प्रतिशतमा झरेको छ ।
बैंकको प्रति सेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा, प्रति सेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ । रिटर्न अन इक्विटी (आरओई) भने १५.८२ प्रतिशतबाट घटेर १३.५६ प्रतिशतमा झरेको छ ।
१३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ । बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ४.११ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा सीमित बनेको छ भने आधार दर ५.४५ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा आइपुगेको छ ।